Logo

मनोरञ्जन

मेरो बारेमा झूटो समाचार छापेर बदनाम नगरिदिनुस् : समीक्षा अधिकारी



काठमाडाैं । गायिका समीक्षा अधिकारीले आफ्नो दिदीसँग जोडेर लेखिएका भ्रामक समाचार तथा समाजिक सञ्जालमा आएका पोस्टप्रति आपत्ति जनाएकी छन् ।

उनले यो भ्रामक समाचार भएको भन्दै तथ्यहीन कुरा नलेखिदिन आग्रह गरेकी छन् । उनले आफू अँध्यारो समयलाई बिर्सेर अगाडि बढ्न खोज्दै गर्दा बदनाम गराउन गराएको भन्दै नगिजोल्न आग्रह गरेकी हुन् ।

केही मिडियामा समिक्षाले दिदी शर्मिलालाई केयर टेकरका रुपमा अष्ट्रेलिया लगेर उतै छाडेपछि अष्ट्रेलियाले उनको भिषा रद्द गरेको समाचार प्रकाशित गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले आफ्नो विषयमा आएका समाचारबारे प्रष्टीकरण दिएकी हुन् । उनले समाचारहरु हेरेर आफू आश्चर्यमा परेको बताएकी छन् ।

‘हुन त मैले योभन्दा ठुलो प्रहारहरु खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदीबैनीहरुलाई सोध्न चाहन्छु, यहाँनिर मेरो गल्ति के भयो ?’, उनले लेखेकी छन्, ‘एउटा उमेर पुगेको मान्छे नियम परिधिभित्र रहेर अष्ट्रेलियामा बसाइ लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो ?’

समिक्षाले आफ्नो भिषा निवेदनमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने भनिएको र आफूले त्यो पठाइसकेको उल्लेख गरेकी छन् ।

‘भएको यति हो । म एउटा अँध्यारो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनुहुन्छ ? मैले भोग्नुपर्ने भोगिसकेँ । सहनपर्ने सहिसकेँ । प्लिज मलाई नगिजोल्नुस ।’

‘मेरो व्यक्तिगत कुराहरु हुन्छन् । मेरो अनुमतिबिना मेरो भिषाको स्टाटस चेक गर्न तपाईं बसेको देशको कानुनले दिन्छ ? म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरुलाई बताउँथे’, उनले भनेकी छन् ।

आफ्नी दिदी कुनै नियम तोडेर नभइ अष्ट्रेलियाको नियममै रहेर त्यहाँ पढिरहेको उनको भनाइ छ । ‘दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नुहुन्छ दुइवटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस । सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस’, उनले भनेकी छन् ।

आफू ब्ल्याक लिस्टमा परेको खबर सरासर झुठो भएको समिक्षा बताउँछिन् ।

‘मलाई अहिले तिज कार्यक्रमको लागी दिदी-बहिनी इभेन्टले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।

‘म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक-पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ, मैले कुनै गलत काम गरेकी छैन । यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १६:५४   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।