भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएका छन् ।
चाँगुनारायण नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।
सदियाैँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उहाँले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए ।
“देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,” उपप्रधानमन्त्री खड्काले भने, “यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”
जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।”
देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उनले सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट सुधारका लागि लागिरहनु भएको बताउँदै सरकारको ध्यान आर्थिक उन्नति भएको पनि स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले भने, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धि हासिल भएको हो । जनताकै मतबाट निर्वाचित भएर हामी आएका हौँ भन्ने भुल्नु हुँदैन ।”
उनले छालिङ जाने सडकका विस्तारदेखि स्मार्ट सिटी निर्माणको निर्णय नहुँदा जनतामा परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याका निकास निकाल्न पहल गर्ने बताए ।
















प्रतिक्रिया