काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा पनि आफूहरूलाई निषेध गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियूको बैठकमा उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताए ।
सदनमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी उक्त बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा एकीकृत समाजवादीलाई सहभागी नगराएको पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको जिकिर छ ।
अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव नगरेको पनि खुलाए । ओलीले राष्ट्रपति बनाउन प्रस्ताव गरेको भनिएको त्यो गलत भएको उनले बताए । नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गरे । तर पार्टीलाई बिजोग बनाएर आफूले राष्ट्रपति बन्न नचाहेको उनले बताए ।
















प्रतिक्रिया