Logo

प्रमुख समाचार

देउवाको अपिल– ‘सामाजिक सद्भाव भड्काउने गतिविधिले कसैको हित हुँदैन, सबै संयम बनौं’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल नपु¥याई आफ्नो धर्म संस्कृति मनाउनुपर्ने बताएका छन् । केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त गर्दै उनले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् ।

‘परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ(आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’

सभापति देउवाले नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने दाबी गरेका छन् । ‘यस्ता घटनाबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।

विज्ञप्ति हेर्नुहोस्:–

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १८:३७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।