एजेन्सी । म्यानचेस्टर युनाइटेडले खेलमा पछि परेको अवस्था उल्ट्याउँदै इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।
दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सिमित नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्दा आर्सनलले १० जनामा सिमित फुलहमसँग २-२ को बराबरी खेल्यो ।
म्यानचेस्टर युनाइटेडको जितमा क्रिस्टियन एरिक्सन, क्यासेमिरो र ब्रुनो फर्नान्डेसले गोल गरे भने फरेस्टमा लागि ताइवो अवोनियी र विली बोलीले १-१ गोल गरे ।
म्यानचेस्टर युनाइटेडले खेलको पहिलो चार मिनेट भित्र नै दुई गोल खान पुगेको थियो । खेलको दोस्रो मिनेटमा नै फरेस्टका ताइवो अवोनियीले काउन्टर अट्याकमा युनाइटेड गोलरक्षक आन्द्रे ओनानालाई परास्त पारेका थिए । त्यसको दुई मिनेट पश्चात विली बोलीले हेड मार्फत गोल गर्दै फरेस्टलाई २-० को अग्रता दिलाए ।
तर युनाइटेड त्यसपछि तीन गोल फर्काउदै खेलमा जीत निकाल्न सफल भयो । खेलको १७औं मिनेटमा मार्कस रासफर्डको असिस्टमा क्रिस्टियन एरिक्सनले गोल गर्दै खेलमा फर्काए । दोस्रो हाफको सातौं मिनेटमा क्यासेमिरोले फर्नान्डेसको पासमा सहज गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
६७ औं मिनेटमा फरेस्टका जो वोरल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि फरेस्टले खेलमा लय गुमाउन थाल्यो । फरेस्टका ड्यानिलोले रासफर्डलागि डी-बक्स भित्र फाउल गरेपछि युनाइटेडले पेनाल्टीमा अवसर प्राप्त गरेको थियो । फर्नान्डेसले उक्त पेनाल्टीमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। अन्त्यमा त्यही गोल जीतका लागि पर्याप्त रह्यो ।
जितपछि युनाइटेडको तीन खेलमा दुई जीत र एक हार सँगै ६ अंक पुगेको छ भने फरेस्टको समान खेलमा तीन अंक रहेको छ ।





















प्रतिक्रिया