पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भएको टिप्पणी गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले रणबहादुर र जंगबहादुरहरू त आउने र जाने भएपनि देश र जनतालाई धेरै ठूलो नोक्सान हुने तर्क गरेका हुन् ।
‘देश आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको वेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श,सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो।’भट्टराईले भनेका छन्,‘परन्तु चरम सत्तालो लुप,भ्रष्ट र अदूरदर्शी व्यक्ति/शक्तिहरूको सत्तालुछाचुँडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको समकालीन नेपालको कटुसत्य हो ।’
भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भूमरीमा पर्दै गएको बेला राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।
भट्टराईले थप भनेका छन्,‘संघ र प्रदेश-१ लगायतमा भइरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्ता लुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भैरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति/दल/गुटका आआफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी/दलाली त्यसका भद्दा नमूना हुन् ।’
भट्टराईले गम्भीर स्थितिलाई बेलैमा वस्तुनिष्ठ आँकलन गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्,‘यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ! रणबहादुर र जंगबहादुरहरू त आउॅछन्,जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !’





















प्रतिक्रिया