काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज सोमबार चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै यसै अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन,’ संशोधित मार्गनिर्देशनमा भनिएको छ । यसअघि सबै प्रकारको कर्जामा यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो ।
त्यस्तै, उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण समग्र बैंकिङ्ग प्रणालीबाट कुल रु.३ करोडसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन ।
यस्ता ऋणीलाई प्रवाह हुने चालू पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शनबमोजिम हुनुपर्नेछ ।
‘संशोधित मार्गदर्शनअनुसार फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु. २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु. ४ करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार /बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।
तर, इजाजतपत्र प्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कनभर्जन साइकल, डेज् सेल्स आउटस्ट्यान्डिङ, इनभेन्टरी कन्भर्जन पिरेड, लिड टाइम, अकाउन्ट पेबल पिरेड आदिको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्’ मार्गदर्शनमा भनिएको छ ।
चालु पूँजी कर्जाका विभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्दछ । केन्द्रिय बैंकले जारी गरिएको सूचनामा भनिएको छ ।




















प्रतिक्रिया