Logo

प्रमुख समाचार

‘अतिवादी विचार र प्रवृत्ति धार्मिक तथा जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन उद्धत छन्’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए ।

मंगलबार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको बताए । कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको भनाइ छ ।

‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ । हामीले अझै गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ’, उनले भने ।

अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातीय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए । उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए । उनले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताए । उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको समेत बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ११:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।