काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको योगदान र त्यहाँको जनताको साहसको उच्च प्रशंसा गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोल्पाको विकास निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गरे ।
“विकासमा पछाडि परेका क्षेत्रलाई मूल प्रवाहमा ल्याउन सरकारले महत्व दिएको छ”, प्रधानमन्त्री दाहालले भने । आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताए । केही हुँदैन भन्ने निराशावादी भाष्य चिर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले कोही नछूटोस्, निर्दाेष कोही नपरोस् भनेर आफूले स्पष्ट रुपमा प्रहरी प्रशासनलाई निर्देशन दिएको उल्लेख गरे । उनले भने– “यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन । मेरो पार्टीको त के कुरा ।”
दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा सकारात्मक प्रभाव परेको उल्लेख प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताका सन्दर्भमा कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरेको स्पष्ट पारे । उनले आफ्नो या पराय भनेर विभेद नगरेको स्पष्ट पार्दै सबै भ्रष्टाचारमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताए ।















प्रतिक्रिया