काठमाडौं । पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल महिला संघ, नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा मनोनीत भएका सुदूर पश्चिम, कर्णाली, लुम्विनी, मधेष र गणडकी प्रदेशबाट प्रतिनिधित्त्व गर्ने केन्द्रीय सदस्यहरूलाई अन्तरक्रियात्मक बधाई ज्ञापन गर्दै नेविसंघ पूर्व अध्यक्षसमेत रहेका नेता महरले महाधिवेशन केन्द्रित हुन निर्देशन दिएका हुन् ।
‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको गतिशीलता रोकिनु हुँदैन । क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ तथा शुभेच्छुक संस्था गतिशील हुनुपर्छ । गतिशीलता प्रदानका लागि पार्टी नेतृत्व पनि गम्भीर बन्नुपर्छ । तपाईंहरूलाई महाधिवेशन केन्द्रित हुन जिम्मेवारी प्रदान गर्दै पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुहोस्, मेरो शुभकामना,’ महरले भने । महाधिवेशन केन्द्रित हुँदा कतै कुनै असहजता भए सहजताका लागि आफूले प्रयास र सहजीकरण गर्नेसमेत महरले प्रतिबद्धता जनाएका छन् ।
उनले इमानदारितापूर्वक महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिमा मनोनीत भएका सदस्यहरूले नै वातावरण निर्माण गर्नुपर्ने बताए ।
‘युवाहरूप्रति जनताको ठूलो अपेक्षा हुन्छ। हामी सबै जना जनताको मन जित्ने कार्यमा लाग्नुपर्छ। संगठनलाई गतिशील बनाउँदै जनताको प्रिय पनि बन्न सक्नुपर्छ’, उनी भन्छन् । गतिशील व्यक्तिमात्र राजनीतिमा सफल हुने महरले बताए ।
राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन पनि चाँडोभन्दा चाँडो भ्रातृ संस्थाको महाधिवेशनको अपरिहार्यता रहेको महरले औंल्याए । उनले पार्टीका सबै भ्रातृ सङ्गठनमा पदाधिकारीसहितको पूर्ण आकारको निर्वाचित कमिटी आउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताएका छन् ।
सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताए । जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबीनै पनि पार्टी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ ।
‘जिम्मेवारी विहीनले के माग गर्ने? कसलाई काम लगाउने? अहिले धेरै युवा रनभुल्लमा छन् । अब यो परिस्थितिको अन्त्य हुनुपर्छ । पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भने । महाधिवेशन भएर निर्वाचित नेतृत्व आउँदा भ्रातृ संस्थालाई सशक्त र पुनर्ताजगी बनाउन सञ्जीवनी बुटीको काम गर्ने उनले बताए ।
उनले गाउँ-गाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताएका छन् । ‘नेविसंघ कांग्रेसको मुटु हो। तरुण दल युवाहरूको ऊर्जा हो। महिला संघ लगायत भातृ संस्था ज्ञानेन्द्रिय हुन हुन ।यस्ता थुप्रै संगठनको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ । ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भने । त्यसका लागि जिम्मेवारी प्राप्त साथीहरूको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको महरको भनाइ छ ।
फरक प्रसंगमा बोल्दै नेता महरले अहिले संविधानमाथि सबै क्षेत्रबाट प्रहार हुने गतिविधि भइरहेको बताएका छन्। यसतर्फ चिन्ता व्यक्त गर्दै नेता महरले युवा वर्ग पनि सचेत रहनु पर्ने धारणा राखेका छन् ।
‘निकै ठूलो बलिदानीबाट प्राप्त संविधानको रक्षा हामी सबैको दायित्व हो। संविधान र संघीय व्यवस्थामाथि प्रहार भयो भने पुनः मुलुकमा अस्थिरता निम्तिन्छ । कसैका कुनै असन्तुष्टि भए संवाद र छलफलको माध्यमबाट यहीभित्र समाधान खोज्ने हो । तर, संविधानमाथि नै प्रहार गर्ने गतिविधि गर्नु हुँदैन । यसतर्फ पनि कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था सचेत हुनुपर्छ,’ उनी भन्छन् ।





















प्रतिक्रिया