Logo

अन्तर्राष्ट्रिय

इमरान खानलाई रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश



एजेन्सी । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा रोक लगाएको छ । साथै उनलाई तत्काल रिहा गर्न पनि आदेश दिएको छ ।

जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो । ‘फैसलाको कपी छिट्टै उपलब्ध हुनेछ । अहिलेलाई यति भन्छु, यो (खानको) अपील स्वीकार गरिएको छ’, मुख्य न्यायाधीश फारुकले भने ।

पाकिस्तानी अनलाइन डनका अनुसार तर खान कहिले छुट्छन् भन्ने खुलेको छैन । खानको दल पीटीआईले भने उनलाई आजै रिहा गर्न माग गरेको छ । ५ अगष्टमा खानलाई तीन वर्षको कैद सजाय सुनाइएको थियो ।

खानकी पत्नीले विदेशी नेताबाट पाएको उपहार बेचेर भएको आम्दानीबारे जानकारी नदिएको भन्दै निर्वाचन आयोग अदालत गएको थियो । यसमा दोषी ठहर भएसँगै उनी ५ वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य भएका थिए ।

आदेश लगतै पक्राउ गरिएका उनलाई अटक जेलमा राखिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।