काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)बारे गत वर्ष पारित १२ बुँदे व्याख्यात्मक घोषणासँग आफू सहमत रहेको अमेरिकाले पुनः स्पष्ट पारेको छ । कार्यान्वयनको चरणमा जानेबेला व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरेको आशंकामा प्रश्न उठेपछि अमेरिकाले त्यसबारे वक्तव्य जारी गरेकोहो ।
नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा अमेरिकाले ५० करोड डलर अनुदान सहयोग गर्ने परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । त्यसअघि मंगलबार फेरि उक्त सम्झौतालाई लिएर वक्तव्य जारी गरेको हो ।
नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त अनुमोदनलाई लिएर स्वागत गरेको थियो ।
सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ । त्यसअघि नेपालमा भइरहेको टीकाटिप्पणीलाई मध्यनजर गरेर अमेरिकी दूतावासले वक्तव्यमार्फत मंगलबार प्रतिक्रिया दिएको हो । ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ दूतावासको भनाइ छ ।
नेपालको संसद्बाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि त्यसलाई लिएर स्वागत गरिसकेको छ ।
- याे पनि…
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्नुपर्छ : माधव नेपाल
एमसीसीका उपाध्यक्ष एलफोर्ड नेपालमा
















प्रतिक्रिया