काठमाडौं । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ ।
नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्न लागेको हो । खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ ।
दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।
नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।
नेपाली टोली
कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।















प्रतिक्रिया