Logo

खेलकुद

पाकिस्तानसँग पराजित नेपाली टोलीलाई मेयर बालेनको हौसला : हामी हिँडेको बाटो गलत छैन



काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन् ।

उनले बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरूका मालाहरू पनि यी नै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन् ।

पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्, ‘उहाँ भन्नु हुन्थ्यो– २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ ।’

अहिले एसोसिएट देशहरुमा नेपालको अवस्था फरक रहेको उल्लेख गर्दै बालेनले लेखेका छन्, ‘हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भनेजस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडीका तीब्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजमजस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केही धक रहेजस्तो देखियो ।’

तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोगेको बालेनको भनाइ छ । त्यो सिकाइले हामीलाई भारतसँग खेल्न केही सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।

‘अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही वर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सकेजस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ,’ बालेनले लेखेका छन्, ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् ।’

उनले खेलाडी, व्यवस्थापक र समर्थकहरुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामी हिँडेको बाटो गलत छैन । जय नेपाल ।’

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १२:१९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।