नेपाल आयल निगम लिमिटेडले ३१ असारदेखि पूर्ण स्वचालित प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न थालेपछि करिब एक अर्ब ६८ करोड नाफा सुनिश्चित गरेको छ ।
आयल निगमलाई कहिल्यै घाटा नहुने, तर उपभोक्ता महँगीको मारमा पर्ने गरी तयार गरिएको नयाँ सूत्रका कारण निगमले एक महिनायता पेट्रोलियम पदार्थको मूल्यमा ठूलो दरले वृद्धि गरिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबार नयाँ मूल्य बढाएर पठाएको छ । निगमका अनुसार आइओसीले पठाएको मूल्यसूचीमा पेट्रोल ३.१७ रुपैयाँ, डिजेल २.४८ रुपैयाँ र मट्टीतेल करिब १४ रुपैयाँ प्रतिलिटर बढेर आएको छ । त्यस्तै, हवाई इन्धन प्रतिलिटर १४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ८६ रुपैयाँ ४५ पैसाले बढेर आएको प्रवक्ता मनोज ठाकुरले बताए।
निगमले बिहीबार बिहानबाट लागू हुने गरी पेट्रोल चार रुपैयाँ र डिजेल तीन रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासको मूल्य दुई सय ३५ रुपैयाँ प्रतिसिलिन्डर वृद्धि गरेको छ।
मूल्यवृद्धिपछि ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा महँगो हो । ‘३१ असारदेखि अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्ने नीति लागू गरिएको छ । बिहीबार आइओसीबाट मूल्य बढेर आएका कारण नेपाली बजारमा पनि मूल्यवृद्धि गर्न बाध्य भएका हौँ,’ प्रवक्ता ठाकुरले भने ।
मूल्यवृद्धिपछि पेट्रोल एक सय ८२ रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ७० रुपैयाँ प्रतिलिटर पुगेको छ । यो काठमाडौं उपत्यकाको मूल्य हो । उपत्यकाभन्दा तराईमा २.५० रुपैयाँ र सुर्खेत तथा दाङमा एक रुपैयाँ प्रतिलिटर सस्तो हुने गरेको छ । यसरी मूल्य निर्धारण गर्दा आयल निगमलाई आगामी १५ दिनमा २६ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ ।
यसअघि १–१५ भदौसम्म ४१ करोड रुपैयाँ नाफाको प्रक्षेपण गरिएको थियो भने साउन महिनामा एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको थियो । साउन १ देखि १५ सम्म ५२ करोड र १६ देखि ३२ साउनसम्म थप ४९ करोड रुपैयाँ नाफा निगमले कमाएको थियो ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले स्वचालित मूल्य प्रणाली लागू गरेपछि अन्तर्राष्ट्रिय भाउअनुसार घटबढ हुनु स्वाभाविक भएको बताए । ‘अन्तर्राष्ट्रिय भाउअनुसार आइओसीले हामीलाई जुन मूल्य पठाउँछ, सोहीअनुसार नेपाली बजारमा पेट्रोलियमको मूल्य समायोजन हुने गरेको छ,’ उनले भने, ‘यसलाई अन्यथा लिनुहुन्न ।’
आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणालीको हवाला दिँदै एक महिनामै पेट्रोलमा १८ रुपैयाँ र डिजेलमा २४ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिसकेको छ ।















प्रतिक्रिया