काठमाडौं । झरना थापाद्वारा निर्देशित नेपाली फिल्म ‘भागवत् गीता’ प्रदर्शनमा नआउँदै विवादित बनेको छ । भगवत गीताको अपमान भएको भन्दै हिन्दु जागरण नेपाल लगायतका विभिन्न धार्मिक संघसंस्थाहरुले विरोध जनाएका छन् ।
उनीहरुले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर यो फिल्मको नाम तत्काल हटाउन माग गरेका हुन् । भागवत् गीताको नाममा व्यापार गर्न लागेको भन्दै धार्मिक संघसंस्थाहरुले आपत्ति जनाएका हुन् । उनीहरुले यो नामको फिल्म कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले चलचित्रको कथासँग आपत्ति नभए पनि, नामसँग आपत्ति भएको बताएका छन् । उनी भन्छन्, ‘भागवत् गीता नामसँग हामीलाई आपत्ति छ । चलचित्रमा अन्तरजातीय प्रेमकथालाई समेटेर धार्मिक गीताको नाममा प्रचार गर्न खोजिएको छ । त्यसैले यो नाममा चलचित्र चल्न दिनेछैनौँ ।
उनले भने, ‘चलचित्र भनेको समाजको ऐना हो , तर समाजको ऐना देखाउनेले श्रीमद्भगवद्गीतासँगै कुनै प्रकारको छेउ टुप्पोको हुँदै नभएको कथावस्तुलाई देखाउन खोज्नु धार्मिक तथा सामाजिक अपराध हो ।’
उनले समाजका आफ्ना मूल्यमान्यतालाई गलत तरीकाले सन्देश प्रवाह गर्दा भोलि बालमस्तिष्कमा पनि श्रीमद्भगवद्गीता भनेको यस्तो रहेछ भन्ने गलत सन्देश जाने उपाध्यायले बताए ।
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय युवासमितिका अध्यक्ष सागर थापाले फिल्मको नाम नसच्याएमा फिल्म चल्नै नदिने अडान राखेका छन् ।
‘फिल्मका निर्मातालाई फोन गरेर तथा बिकासबोर्ड र सेन्सर बोर्डमा धार्मिक नाम राखेर आइएका कथावस्तुहरु फिल्मको नाम अनुसारको मिल्यो कि मिलेन भनेर धार्मिक क्षेत्र सङ्ग सरसल्लाह लिएर मात्र चलचित्र बनाउने अनुमती दिनुपर्नेमा चलचित्र बोर्डले बिना बिचार स्वीकृति दिनु र निर्माताले पनि त्यसै गरि फिल्म बनाउनु भनेको धार्मिक क्षेत्रलाई हेपेरै लैजान्छौ भन्ने मनसाय स्पष्ट देखिन्छ ।’ उनले भने ।
बोर्डका अध्यक्षका केसीले कसैको धार्मिक आस्थामाथि आँच आउने कुनैपनि किसिमको चलचित्रलाई मान्यता नदिने बताएका छन् । उनले भने ‘हामीलाई मुभी कस्तो बनेको छ भन्ने थाहा छैन । कथावस्तु कस्तो छ भन्नेबारे मुभी नहेरी भन्न सकिन्न । यदि फिल्मको नाम र कथावस्तु फरक रहेछ भने हामीले यस विषयमा बिचार गर्नेछौँ ।’
बोर्डका अध्यक्ष केसिले चलचित्रलाई अनुमती दिइनसकेको र सो विषयमा सचेत रहेको बताएका छन् ।
चलचित्रमा भागवत् गीताको सन्देशभन्दा फरक कथावस्तु उठाइएको भन्दै व्यापक विरोध भएको हो । फिल्मले बाहिर एक भागवत गीता भनेर प्रचार गरेपनि चलचित्र बोर्डमा भागवत् गीता भनेर सेन्सर गराएको छ ।
चलचित्र बोर्डका सदस्यले पनि चलचित्रप्रति आपत्ति जनाएका छन् । उनी भन्छन्, ‘चलचित्र ऐनमा पनि कुनैपनि धर्म, जात, सम्प्रदाय, लिंग आदिलाई असर पर्नेगरी चलचित्र निर्माण तथा प्रसारण गर्न दिइनेछैन भनिएको छ । त्यसैले फिल्मसँग मेरो पनि आपत्ति छ ।’
यही भदौ २९ गतेबाट रिलिजको तयारीमा गरिरहेको छन् । चलचित्रमा विपिन कार्की सुहाना थापा, धिरज मगर लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मका ३ फरक पोस्टर यसअघि नै सार्वजनिक भएका छन् ।
फिल्मभित्र रोमान्स, लभ, मित्रता र क्रोधको कथा समावेश रहेको पोस्टरले झलक दिन्छन् । फिल्मका निर्माता सुनिल कुमार थापा हुन् ।















प्रतिक्रिया