Logo

प्रमुख समाचार

प्रचण्ड आफैँलाई धेरै दिन सरकार टिक्दैन भन्ने लागिसेकेको छ : केपी शर्मा ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् । उनले एमाले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे । ओलीले देश बनाउने परिस्थीति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको धारणा राखे ।

प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए । अध्यक्ष ओलीले यती, वाइडबडी लगायतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गरे । उनले ८४ को निर्वाचनमा अरु सबै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

ओलीले विरोधीहरूलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिए । यस्तै, ओलीले एमाले महान उदेश्यहरूतर्फ फर्किएको बताए । अध्यक्ष ओलीले एमालेलाई सरकारमा पुगौँ र टिकौँ भन्ने नरहेको स्पष्ट पार्दै महान उदेश्यहरूतर्फ फर्किएको बताएका हुन् । पार्टीका उदेश्य पूरा गर्ने बताउँदै उनले एमाले कर्मकाण्ड नभएको स्पष्ट पारे ।

‘नेकपा एमाले कर्मकाण्ड होइन । महान उद्देश्यहरुतर्फ फर्किएको छ । ती उद्देश्यहरु यस पार्टीले गर्ने छ । गरिआएको छ । यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’ ओलीले भने ।

अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत रिसाउँछ भनेर ईपीजीको प्रतिवेदनबारे कुरा उठाउन नसकेको भन्दै कटाक्ष पनि गरेका छन् ।

उनले भने, ‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्‍याउँनुपर्छ त ? अब दिइहाले त के गर्ने ? कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’

एमालेले देशको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने ओलीले बताए । उनले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको बताउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।