Logo

खेलकुद

एसिया कपमा आज नेपाल र भारत भिड्दै



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले भारतसँग खेल्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो । श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​ डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।

एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनायो। अब भारतले दोस्रो खेलमा नेपालसँग खेल्न लागेको हो। उमेर समुहमा पटक पटक खेलिसके पनि सिनियर टोलीमा यी दुईबीच पहिलो खेल हुन लागेको हो। अब समूह ए मा नेपाल र भारतबीचको खेलको विजेता अर्को चरणमा पुग्नेछ।

एसिया कप खेल्दै गरेका ६ टोलीमध्ये सबैभन्दा कमजोर टोली नेपालले भारतविरुद्ध अकल्पनीय नतिजा निकालेको खण्डमा त्यो नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक दिन हुनेछ । सन् २०१७ मा एसिसी यु १९ एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो । त्यस समयमा पनि समूह ए मा भारतलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो ।

अहिले पनि त्यस्तै समीकरण छ । त्यस ऐतिहसिक जितका ६ जना खेलाडी दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख र किशोर महतो यस पटक पनि टोलीमा छन् ।

नेपाली क्रिकेट इतिहासमा भारतलाई हराएको त्यही एकमात्र खेलका नेपाली टोलीका ब्याटिङ प्रशिक्षक मोन्टी देशाई यस पटक मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । वर्षाको कारण खेल रद्द भएको खण्डमा भने भारत २ अंकका साथ सुपर फोरमा पुग्नेछ ।

मौसम अपडेटका अनुसार नेपाल र भारतबीच खेल हुने श्रीलंकाको पल्लेकेलेमा ८० प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०७:२१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।