Logo

खेलकुद

एसिया कप : नेपाल र भारतबीचको खेल हेर्न जनकपुरमा आज पनि २ बजेपछि विद्यालय बिदा



काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।

‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली खेलाडीलाई हौसला बढाउन जनकपुरधाम उपमहानगरले आकस्मिक सूचना जारी गर्दै दिउँसो दुई बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजेदेखि नेपाल र भारतबीच खेल सुरु हुनेछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ११:५१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।