काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गर्दै विद्यार्थी संघले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेको हो ।
यादवमाथि आक्रमण भएपछि नेविसंघले काठमाडाैंमा मसाल जुलुसहित प्रदर्शन पनि गरेकाे छ । पूर्व मन्त्रीजस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यानमार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार गरिनु निन्दनीय रहेको नेविसंघको भनाइ छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो ।
नेता यादवमाथि आक्रमण गरेको आरोपमा नुवाकोट घर भई काठमाडौँ बालाजु बस्ने श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै नेता यादवलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी दिए ।
‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरीर अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया