Logo

मनोरञ्जन

चलचित्र ‘एक भगवत् गीता’ चल्न नदिने धार्मिक संघसस्थाको चेतावनी



काठमाडौं । प्रदर्शन अगावै विवादमा तानिएको चलचित्र ‘एक भगवत् गीता’ को नाम परिवर्तन नगरेसम्म चल्न नदिन आग्रह गर्दै विभिन्न धार्मिक संघसंस्था तथा सरोकारवालाले चलचित्र विकास बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

हिन्दुजागरण नेपाल ,विश्व हिन्दु महासंघ, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति, शिवसेना नेपाल, श्री जगद्गुरु आश्रम, श्रीमद्भागवत प्रचारप्रसार संघ लगायत धार्मिक संघहरुले फिल्मको नामप्रति आपत्ति जनाउँदै बोर्डमा ज्ञापन पत्र बुझाएका हुन् ।

चलचित्रले कथा एउटा र नाम अर्को राखेर धार्मिक ग्रन्थ श्रीमद्भागवत गीताको मर्म विपरीत कथावस्तु देखाउन खोजिएको भन्दै विभिन्न धार्मिक संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाउँदै आएका थिए ।

‘यसै सिलसिलामा चलचित्रक्षेत्र समाजको ऐना हो भनेर समाजले बुझिरहेको अवस्थामा चलचित्र क्षेत्रबाट बेलामौकामा सनातन धर्म वा आस्था माथि विभिन्न कोणबाट प्रहार गरिरहेकोले हामी सबैको ध्यानाकर्षण भएको छ । हालसालै प्रदर्शनमा आउदै गरेको चलचित्र श्रीमद् भगवद्गीताको विषयमा धार्मिक संघ संस्थाको प्रतिनिधित्व गर्दै हामीले यो चलचित्रमा अन्तर्जातीय प्रेमकथा संग श्रीमद् भगवद्गीताको कुनै सम्बन्ध नै छैन भनेर सचेत गराएपछि सो नाममा थोरै हेरफेर गरेर एक भगवद्गीता भन्ने नाम राखिएको पाइयो । गत भदौ १८ गते चलचित्रबोर्डमा बैठक बस्दा हामीले कथावस्तु परिवर्तन गरेर विशुद्ध श्रीमद् भगवद्गीताको कर्मयोगलाई प्राधान्यता दिएर चलचित्र निर्माण गरेका छौं भन्ने जानकारी आए अनुरुप निर्माताज्यु संग चलचित्रको स्क्रीप्ट हामीले हेर्दा यो त केवल हामीलाई कर्मयोगको नाममा झुक्याइएको मात्र महसूस भयो । कथावस्तुको प्रारम्भमा नै “एक भागवत गीता“ एक चार बर्षिय बालक “भागवत” र १७ बर्षिय बालिका “गीताको जीबन भोगाई , इच्छा – चाहना र ती चाहना पुरा गर्न खोज्दा आईपर्ने बाधा-अबरोधमा आधारित चलचित्र हो । यी दुई पात्र मार्फत हाम्रो समाजमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पीडा , भोगाई र उनीहरुको अस्तित्वको लडाईलाई देखाउन खोजिएको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

समग्र स्क्रीप्ट अध्ययन गर्दा हालको नाम अनुसार एक भगवद्गीतामा कहिँ कतै कुनै सम्बन्ध नभई केवल भगवद्गीताको नाम राखेर व्यावसायिक प्रयोजनको लागि पब्लिक सेन्टिमेन्ट मात्र प्रयोग गर्न खोजिएको र सनातनीहरुको पवित्रग्रन्थ श्रीमद्भगवद्गीताको दुरुपयोग गर्न खोजेको धार्मिक संघसंस्था तथा सरोकारवालाले बताएका छन् ।

चलचित्रमा राखिएको नाम एक भगवद्गीता नाम हटाई अर्को नाम राखेर चलचित्र चलाउँदा कुनै आपत्ति नहुने भन्दै चलचित्रको नाम नफेरि बोर्डबाट सेन्सरको लागि सिफारिस नगर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

अल्पसंख्यक लैंगिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ।

सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको फिल्ममा  विपिन कार्की, धिरज मगर, सुहाना थापाको अलावा अनुराग कुँवर, कबीर खड्का, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको अभिनय छ ।

यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा कन्सेप्ट सुहाना थापा र कथा झरना थापाले तयार गरेका हुन्, राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व छ । फिल्मकी निर्माता अभिनेत्री सुहाना हुन् ।

फिल्म २९ भदौबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:२२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।