धरान । नेकपा एमालेका उपाध्यक्ष एपम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले पहिचानका नाममा लोकतान्त्रिक पद्धतिविरुद्धका गतिविधि नगर्न पहिचानवादीहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको पहिलो अधिवेशन आज धरानमा उद्घाटन गर्दै उनले नेकपा एमालेको विरोध गर्न पाइने तर लोकतान्त्रिक विधि र पद्धति छोड्न नपाइने भन्दै लोकतान्त्रिक पद्धतिविरुद्धका गतिविधि नगर्न पहिचान पक्षधरहरूलाई आग्रह गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य नेताहरू सवार गाडीमा पहिचानवादीको नाममा ढुंगा प्रहार भएको घटना उल्लेख गर्दै उपाध्यक्ष नेम्वाङले अराजक गतिविधिको कुनै गन्तव्य नहुने स्पष्ट गरे ।
यस्तै, उनले पहिचानवादीहरूले एमालेमाथि प्रहार गरेको ढुंगा लागेर जनजाती प्रहरी अधिकारीहरू नै घाइते भएको प्रसङ्ग उल्लेख गर्दै ‘जनजातीको ढुंगा’ खतरनाक हुने टिप्पणी गरे । ‘पहिचानको नाममा अराजक गतिविधि गर्नेहरुले भर्खरै बढुवा भएका लिम्बू थरका डीएसपीको टाउकोमा प्रहार गर्दा १७ टाँका लगाउनु पर्यो । पहिचानवादीकै नामको अर्को ढुंगाले राजवंशी थरका प्रहरीको च्यापु खुस्कियो । यसले कसलाई फाइदा पुर्यो रु’ नेम्वाङले प्रश्न गरे ।
नेता नेम्बाङले अराजक गतिविधिले पहिचान स्थापित नहुने भन्दै लोकतान्त्रिक विधिबाट माग र अधिकारका लागि आवाज उठाउन आग्रह गरे । ढुंगा प्रहारको घटनामा पीडितको स्वास्थ्य अवस्था बुझ्ने क्रममा आफूले ‘पहिचानको ढुंगा खतरनाक हुँदो रहेछ’ भन्ने महसुस गरेको समेत उनले बताए ।
लोकतन्त्रको मूल्यमान्यताविपरीतका काम जहाँबाट भए पनि रोक्न नेम्बाङले आग्रह गरेका छन् ।
उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, शेरधन राई, युवा संघका इञ्चार्ज समेत रहेका पूर्वध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य यज्ञराज सुनुवारलगायत नेताहरूको सहभागिता थियो ।





















प्रतिक्रिया