काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको बताएका छन् । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छेहरू विक्षिप्त भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
शनिबार गोरखामा वाइसीएल नेपालको कार्यक्रममा नेकपा माओवादी केन्द्रको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकारले अभियान सञ्चालन गरेको बताएका हुन् । जनतालाई राहत दिने र मुलुकमा सुशासन कायम गर्ने अभियानमा सरकार रहेको उनको भनाइ थियो ।
म तपाईंहरूको मतबाट निर्वाचित भएर गएपछि धेरै उतारचढावसहित प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर प्राप्त भयो । यो चुनौती पनि छ, अवसर पनि छ । अहिले सरकारको तर्फबाट जनतालाई प्रत्यक्ष रूपले राहत दिने काम सुरु गरिएको छ, प्रधानमन्त्री प्रचण्डले भने, सरकारको तर्फबाट सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्ध ठूलो अभियान नै छेडिएको छ । यसले एकथरी मान्छेहरूलाई विक्षिप्त बनाएको छ भने जनतालाई यो हाम्रो सरकार, जनताको सरकार हो भन्ने बनाएको छ ।
सरकारले मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्नका लागि निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको र त्यो काम आफू प्रधानमन्त्री भएदेखि नै थालिएको दाहालको भनाइ थियो । सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आगामी चीन भ्रमणले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।
















प्रतिक्रिया