काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईमाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै छ।
संस्थापन पक्षसँग असन्तुष्ट रहेका इतर समूह र गत निर्वाचनमा पराजित समूहले सोमबार एन्फाको केन्द्रीय कार्यलयमा अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ। सोमबार हुने भर्चुअल साधारणसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।
संस्थापन पक्षसँग असन्तुष्ट रहेका क्लब, जिल्ला र केन्द्रीय सदस्यले आइतबार अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गरेका छन् । प्रस्ताव दर्ता भएपछि विधानको धारा ४१ अनुसार नेम्बाङ र राई स्वतः निलम्बनमा पर्नेछन् । अविश्वासको प्रस्ताव दर्ता हुन साधारणसभामा उपस्थित दुईतिहाइ सदस्यको हस्ताक्षर आवश्यक पर्छ । एन्फाको साधारणसभामा ८६ सदस्य छन् ।
‘साधारणसभाले सम्बन्धित निकायअन्तर्गतका सदस्यलाई बर्खास्त गर्न सक्नेछ । कार्यसमितिले त्यस्ता व्यक्तिको बर्खास्तीलाई साधारणसभाको विषयसूची (एजेन्डा) मा समावेश गर्नेछ । कार्यसमितिले त्यस्ता सदस्यलाई आउने साधारणसभाको बैठकसम्मका लागि अस्थायी रूपमा बर्खास्त गर्न सक्दछ । कार्यसमितिको कुनै पनि सदस्यको बर्खास्तीसम्बन्धी प्रस्ताव कार्यसमिति वा साधारणसभाको विषयसूचीमा समावेश गर्नका लागि पेस गर्न सक्नेछ । तर, स्वतन्त्र निकायका सदस्य (व्यक्ति)को हकमा बर्खास्तीसम्बन्धी कुनै पनि निर्णय कंग्रेसले मात्र गर्न सक्नेछ,’ धारा ४१ मा उल्लेख छ ।
अविश्वासको प्रस्ताव लागेका सदस्यहरूले प्रतिरक्षा गर्न पाउने विधानमै उल्लेख छ । ‘अभियोग लागेको निकायका सदस्यहरूलाई प्रतिरक्षा गर्ने अधिकार सुरक्षित रहनेछ । यदि बर्खास्तीको प्रस्ताव पुष्टि भए साधारणसभा वा कार्यसमितिले गोप्य मतदानद्वारा निर्णयमा पुग्नेछ । प्रस्ताव पारित हुनका लागि दुईतिहाइ बहुमतको आवश्यकता पर्दछ । बर्खास्तीमा परेको व्यक्ति वा निकायलाई तत्कालै जिम्मेवारीबाट मुक्त गरिनुपर्दछ,’ धारा ४१ मै भनिएको छ ।
वरिष्ठका आधारमा एन्फाका वरिष्ठ उपाध्यक्षले अविश्वासको प्रस्ताव पारित भएको ३० दिनभित्र साधारणसभा बोलाउनेछन् । एन्फाभित्रको आन्तरिक द्वन्द्व समाधान गर्न नसक्दा अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामना गर्नुपरेको हो । यो दुई साताभित्र यी दुवै व्यक्तिमाथि ३२ क्लबले खुलेरै विरोध गर्दै आएका थिए । असन्तुष्ट पक्षले नेतृत्व नसच्चिए नेपाली फुटबलमा ठूलो दुर्घटना हुने चेतावनी दिँदै आएका छन् ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष र एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले नेतृत्व पक्षले आफूहरूले राखेको कुनै पनि प्रस्ताव र सुझावको सुनुवाइ नभएपछि अविश्वासको प्रस्ताव राख्ने अवस्था सिर्जना भएको बताए । एन्फा महासचिव राईले रित पुर्याएर अविश्वासको प्रस्ताव ल्याए दर्ता हुने बताएका छन् । ‘उहाँहरूले रित पुर्याएर अविश्वासको प्रस्ताव ल्याए दर्ता हुनेछ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।















प्रतिक्रिया