काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरका अनुसार एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दर्ता गराएको र एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको तुलाधरले जानकारी दिए ।
उनीहरूले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ ।
उनीहरूले अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाएका छन् । जसमा विशेष साधारण सभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन् ।
गत वर्षको असारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्वाङ अल्पमतमा परेका थिए । पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्वाङले कार्य समितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ ।
प्रतिक्रिया