काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’
नेम्वाङले नेपालको सहमतीय राजनीतिमा खेलेको भूमिका, संविधान निर्माण तथा कानून निर्माणमा गरेका योगदान इतिहासमा अभिलेखिकरण भएको उल्लेख गर्दै सभामुख घिमिरेले शान्त, शालीन र भद्र राजनीतिज्ञका रूपमा परिचित उनको निधनले नेपालको न्याय क्षेत्रले कानूनका ज्ञाता गुमाएको पनि बताएका छन् ।
शोक वक्तव्यमा भनिएको छ, ‘२०४८ सालमा राष्ट्रिय सभामा निर्वाचित भएपछि संसदीय क्षेत्रमा अविराम योगदान गर्नुभएका नेम्वाङले संविधान निर्माणको ऐतिहासिक नेतृत्व गर्नुभएको थियो । २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभाको सभामुख, अन्तरिम व्यवस्थापिका संसदको सभामुख, प्रथम र दोस्रो संविधान सभाको अध्यक्ष हुनुभएका नेम्वाङले पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । नेम्वाङले नेपालको सहमतीय राजनीतिमा खेलेको भूमिका, संविधान निर्माण तथा कानून निर्माणमा गर्नुभएको योगदान इतिहासमा अभिलेखिकरण भएको छ । शान्त, शालीन र भद्र राजनीतिज्ञका रूपमा परिचित उहाँको निधनले नेपालको न्याय क्षेत्रले कानूनका ज्ञाता गुमाएको छ ।’
पाँच दशक लामो राजनीतिक यात्रामा असल राजनीतिज्ञ नेम्वाङसँग आफूले लामो सहयात्रा गर्ने अवसर पाएको भन्दै घिमिरेले राजनीतिक जटिलतालाई विभिन्न विकल्प र कोणबाट समाधान गर्ने नेम्वाङको क्षमता बिरलै राजनीतिज्ञमा पाउन सकिने उल्लेख गरेका छन् ।
















प्रतिक्रिया