Logo

अर्थ

विकास र समृद्धिको बाटोमा नहिँडे जनता व्यवस्थाको विरुद्धमा उभिन सक्छन् : मन्त्री श्रेष्ठ



काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले विकास र समृद्धिको बाटोमा तिव्र गतिले लाग्नुपर्ने बताएका छन् ।

मंगलबार सिन्धुली उद्योग बाणिज्य संघको ३३औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तिव्र गतिमा लाग्नुपर्ने बताएका हुन् ।

उनले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको बताए । उनले गणतन्त्रको स्थापना नेपाली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै सो उपलब्धिको जगमा टेकेर तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए ।

उनले देशलाई समृद्ध बनाउनका लागि सबै एकताबद्ध हुनुपर्ने बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि निजी क्षेत्रलाई अपील समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गरे ।

मरिण, कमला र चदहा नदी नियन्त्रण गरि खेतीयोग्य उर्वर जमिन उकास गर्ने, सिंचाइको व्यवस्था गर्ने र ती क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा विकास गरि जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने उनले बताए ।

उनले बागमती प्रदेश सरकारले कृषि पकेट क्षेत्रको अवधारणा ल्याएको जानकारी दिदैँ चाँडै पकेट क्षेत्रहरू घोषणा गरि आधुनिक र व्यवसायीक कृषि उत्पादन सुरु गर्ने बताए ।

महाभारत क्षेत्रमा अर्गानिक तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरि व्यवसायीक उत्पादनमा जोड दिन तरकारी एम्बुलेन्सको अवधारणासहित बागमती प्रदेश सरकारले योजना बनाइरहेको पनि मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ४ : ११ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।