Logo

राजनीति

एक किलो सुन तस्करीमा तरुण दलका नेता संलग्न



काठमाडौं । गत मंगलबार विहान त्रिभुवन विमानस्थलबाट करिब एक केजी (९६० ग्राम) सुन प्रहरीले बरामद गर्‍यो ।

सुन काभ्रे खानीखोला गाउँपालिका-३ का बाबुलाल दोङले मलद्वारमा लुकाएर ल्याएका थिए । हिमालयन एयरलाइन्समार्फत् मंगलबार बिहान दुबईबाट उनी काठमाडौं आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । उनलाई पछ्याउँदै गएको प्रहरी टोलीले सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका-३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका-३, सानोपोखरा घर भई बनेपा बस्दै आएका मिङमा दोर्जे स्याङ्तानसम्म प्रहरी पुग्यो ।

उनीहरूसँगै प्रहरीले सुन लिन प्रयोग भएको क्रेटा गाडी र बुलेट बाइक पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार दोर्जे र जगतसँगै बाग्मती प्रदेशको ०१-२७ प च ९९६० नम्बरको क्रेटा गाडी र बाग्मती प्रदेशकै ०२-०३० प ८५१७ नम्बरको बुलेट बाइक बरामद गरेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार उक्त क्रेटा र बाइक दुवै कांग्रेस तरुण दलका नेता विकास लामा भन्ने विकास योन्जनको हो । विकास लामाको नाममा रहेको यी गाडी करिब एक किलो सुन तस्करीमा प्रयोग भएको प्रहरीले स्रोतको दाबी छ ।

सुन तस्करीमा नेपाली कांग्रेसका जिल्ला नेताको सवारी साधन प्रयोग भएपछि राजनीतिक पहुँचका आधारमा सुन तस्करी गरिएको प्रमाण भेटिएको हो । अन्नपूर्णलाई प्राप्त प्रमाणमा कांग्रेस नेता विकास लामाले ती दुवै गाडी प्रयोग गरेर फोटो खिचाएको देखिन्छ। गाडीको कागजात समेत विकासकै नाममा रहेकाले सुन उनकै हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी स्रोत भन्छ, ‘विकास लामा प्रहरीको फरार सूचीमा छन्। उनको नामको सवारी साधन प्रयोग भएर सुन तस्करी गरिएको छ । तस्करीमा लामाकै संलग्नता भएको प्रमाण प्रहरीले फेला पारेको छ ।

पक्राउ परेका जगतले सुन आफ्नै भएको बताए पनि सम्पर्क विवरण र गाडीबाट यसमा विकास लामाको पनि संलग्नता खुलेको छ । नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा विकास लामालाई २०७९ कात्तिकमा मनोनित गरेका थिए। लामा काभ्रे काग्रेसको समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।