काठमाडौं । आज बसेको मन्त्रीपरिषद्ले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । संविधान दिवसका दिन बाँड्दै आएको पदक नबाँड्नेदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको समस्या समाधान गर्नेसम्म निर्णयहरु भएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसका अवसरमा हरेक वर्ष बाँड्दै आएको पदक, विभूषण र अलंकारको विषयमा प्रतिवेदन तयार पारेर फरक तरिकाले वितरण गर्ने पनि जनाएको छ । त्यस्तै बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले गरेको अन्य निर्णयहरु यसप्रकार छन्
२०८० भदौ २९ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने ।
–साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०÷१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने ।
–सिंचाई नीति, २०८० स्वीकृत गर्ने ।
–संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने ।
–नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।
–विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने ।
–सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने ।
–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने ।
प्रतिक्रिया