Logo

राजनीति

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : शशाङ्क कोइराला



चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।

उनले भने, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो ।

सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए । उनले भने, “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उनले भने, “मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो । “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले बताए । पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १२:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।