काठमाडाैं । एसिया कप क्रिकेटको उपाधि जित्नका लागि भारतले ५१ रनको लक्ष्य पाएको छ । श्रीलंकाले १५.२ ओभरमा सबै विकेट गुमाएर ५० रनमात्रै बनाउन सक्यो ।
कोलम्बोमा आज भएको फाइनल खेलमा घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर, श्रीलंकन कप्तान दसुन सनकाको निर्णय पुरै गलत सावित भयो । १३ ओभरमा ८ विकेट गुमाउँदा ४० रन बनाएको श्रीलंकाले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकालाई फाइनलमा पुरै दबाबमा राख्नका लागि मोहम्मद सिराज एक्लैले ६ विकेट लिए। सिराजले ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर २१ रन खर्चिएर ६ विकेट लिएका हुन् ।
यसैगरी जसप्रित बुमराहले ५ ओभरमा १ ओभर मेडन राख्दै २३ रन खर्चिएर १ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले २.२ ओभर बलिङ गर्दा ३ रन दिएर ३ विकेट लिए ।
श्रीलंकाका लागि पथुम निसनका र कुशल परेराले ओपनिङ गरेका थिए । कुशल परेरालाई बुमराहले आउट गर्दै भारतलाई सुखद् सुरुआत गराए । चौथो ओभरमा श्रीलंकाले ४ विकेट गुमायो । मोहम्मद सिराजले चौथो ओभरको पहिलो बलमा पथुम निसनकालाई आउट गरेका थिए । उनी २ रन बनाएर आउट भए ।
दोस्रो बलमा सदेर समरविक्रमाले रन बनाउन सकेनन् । तेस्रो बलमा उनी एलबीडब्ल्यू आउट भएका थिए । चौथो बलमा चरिथा असलंकाले खाता नै नखोली पभेलियन फर्किए । पाँचौं बल ह्याट्रिक विकेटको खोजीमा रहेका सिराजले चार रन दिए । उनलाई धनञ्जय डी सिल्भाले चार रन प्रहार गरका थिए । तर अन्तिम बलमा सिल्भालाई आउट गर्दै सिरजाले एकै ओभरमा ४ विकेट लिएर सनसनी मच्चाए ।
छैटौं विकेट पनि श्रीलंकाले १२ रन हुँदा गुमाएको थियो । श्रीलंकाका कप्तान दसुन सनकाले खाता पनि खोल्न सकेनन् । उनलाई सिराजले नै पभेलियन फर्काए । एक छेउमा टिकको कुशल मेन्डिस सातौं विकेटको रुपमा आउट भए । उनले ३४ बलमा १७ रन बनाएका बेला सिराजकै धरापमा परेका थिए । क्रिजमा दुनिथ वेललागे र दसुन हेमन्था क्रिकेटमा रहेका थिए । १२ ओभर सकिँदा श्रीलंकाले ७ विकेट गुमाएर ३९ रन बनाएको थियो । १३ औं ओभरको तेस्रो बलमा श्रीलंकाले आठौं विकेट गुमायो । भारतका हार्दिक पाण्ड्याले दुनिथ वेलवालेगेलाई आउट गरे ।
उनी ८ रन बनाएर आउट भएका हुन् । नवौं विकेटको रुपमा प्रमोद मदुसन आउट भए । उनी १ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याको बलमा विराटले क्याच लिँदै पभेलियन पठाएका हुन् । लगत्तै अन्तिम विकेटको रुपमा मथिसा पथिरना खाता नै नखोली आउट भए । दसुन हेमन्था १३ रनमा नटआउट रहे । श्रीलंका १३.२ ओभरमा सबै विकेट गुमाएर ५० रनमा समेटिन पुग्यो । भारतका मोहम्मद सिराजले ६ विकेट लिँदा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
प्रतिक्रिया