काठमाडौं । हरितालिका तीजको अवसरमा देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित ब्रत बसेर शिवको पूजा गर्ने चलन छ । सत्य युगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाे विश्वास गरिन्छ । त्यसैले आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरलगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने ब्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो ।
ब्रतालुहरु त्यसभन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति मन्दिर दर्शन गरिसकेकाहरु समूह–समूह बनाएर नाचगान गरिरहेका छन् ।

तस्बिरहरु: तेज किराँती















प्रतिक्रिया