Logo

अर्थ

बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई २ लाख जरिवाना



काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दूधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी बिग्रिएको दूधवरीबेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार प्राप्त सूचनाका आधारमा प्रहरी अनुगमनमा गएको थियो ।

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो । फाटेको दूधमा दूधवरी बनाइएको पाइयो । पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार पनि नभएको महानगरले जनाएको छ । अनुगमनमा गएका निरीक्षण अधिकृत डा. झाले भने, ‘उचित तापक्रममा नराखेका कारण दूध फाटेको र त्यही फाटेका दूधमा मिठाइ बनाएको पाइएपछि कारबाही गरिएको हो ।’

झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो । जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा बिक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १७:२३   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।