काठमाडौं । नेता डा. शेखर कोइरालाको आह्वानमा मंगलबार कांग्रेस संस्थापन इतर समूहको बैठक बस्यो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि बसेको इतर पक्षको बैठकमा नेताहरूले कोशी प्रदेशको सत्ता राजनीतिको चर्चादेखि मन्त्रिपरिषद्को सदस्य भएर पनि पार्टी नेतृत्वको दबाबका कारण काम गर्न नपाएको जस्ता गुनासो गरेका छन् ।
कानून, न्याय तथा संसदीय मामिलान्त्रालयको जिम्मेवारी सम्हालिरहेका कांग्रेस उपसभापति धनराज गुरुङले समूहको बैठकमा सरकारले राम्रो काम गर्दा पार्टीबाट खुलेर सहयोग नपाएको गुनासो गरे । उनले पार्टी नेतृत्वले खुलेर साथ नदिएको बताए ।
‘सरकारको उच्च मनोबलले काम गर्ने कुरामा पार्टीको पनि साथ र सहयोग आवश्यक छ । पार्टी खुलेरै साथ दिने हिसाबले निस्कनुपर्यो । बाहिर टीकाटिप्पणी भएको जस्तो होइन । हामी पनि सरकारलाई सफल बनाउन लाग्नुपर्छ’, मन्त्री गुरुङको भनाइ थियो ।
न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार छानबिनको विषयमा कुनै गलत काम नगरेको मन्त्री गुरुङको जिकिर थियो । उनले सभापतिबाट आफ्नो काममा हस्तक्षेप प्रयास भएको पनि बैठकलाई जानकारी गराएका थिए ।
यस्तै, बैठकमा कोशी सरकारको विषयमा पनि न्यायसंगत नभएको कांग्रेस इतर पक्षको निष्कर्ष छ । सांसदसमेत रहेका नेता सञ्जय गौमतले भने, ‘कोशी सरकारको विषयले राजनीतिक रुपमा पनि अफ्ठ्यारो पारेको छ । संवैधानिक र संस्थागन रुपमा पनि अफ्ठ्यारो पारेको छ । नयाँ ढंगले सोच्नुपर्छ ।’
यसैगरी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ । बैठकपछि नेता गौमतले सरकारको कामबारे आफूहरुलाई चित्त नबुझेको कुरा बैठकमा राखेको बताए ।
उनले भने, ‘सरकारको कामबारे हामीलाई चित्त बुझेको छैन । हाम्रो पार्टीको प्रधानमन्त्री नभएपनि यो सरकार हाम्रो पार्टीको समर्थनमा बनेको छ ।’















प्रतिक्रिया