Logo

प्रमुख समाचार

आयरल्याण्डमा सभामुखको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भयो भेट



काठमाडौं– साता लामो आयरल्याण्ड भ्रमणमा निस्किएका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । उनले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीच संसदीय अभ्यासको विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदानलगायतका काम भएको स्मरण गरेका थिए ।

सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । उनले सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गरे ।

सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले सुरक्षा परिषद्‍मा नेपालले आयरल्याण्डलाई समर्थन गरेकोमा धन्यवाद दिए ।

नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ११:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।