Logo

प्रमुख समाचार

कांग्रेसमा खटपट: देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस् !



काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीलगायत विभिन्न विषयमा असन्तुष्टि राखेका छन्।

सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको कोइरालाको आरोप छ। बुधबार बिहान ११:३० बजेदेखि मध्याह्न १२ बजेसम्म कोइरालाले धुम्बाराही पुगेर सभापति देउवासँग कुराकानी गरेका हुन्। कोइरालाले उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारलाई साथै लगेका थिए। महामन्त्री गगन थापा बिपी साहित्य महोत्सवमा व्यस्त भएकोले देउवा निवास गएका थिएनन्।

कोइरालाले मंगलबार बालुवाटारस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालासँग आग्रह गरेका थिए।

०७८ को मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग कोइराला पराजित भएका थिए। कोइरालाले संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका छन्। सभापति देउवासँग कोइरालाले पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएका थिए। पार्टीका नेताहरुले सरकारमा राम्राे र प्रभावकारी काम नगरेकाे काेइरालाकाे गुनासाे थियाे ।

‘तपाईं विधानअनुसार चल्नुभएन। नेविसंघ र तरूण दल विधानविपरीत बनाइएको छ,’ कोइरालाले देउवासँग भनेका थिए, ‘सरकारमा जाँदा र मन्त्री पठाउँदा समन्वय र छलफल गर्नु भएन।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरुमा देउवापक्षका मात्रै राखिएकाेमा काेइरालाले असन्तुष्टि व्यक्त गरेकाे देखिन्थ्याे । संस्थापनइतर समूहले कम्तीमा ३ जना मन्त्री आफूहरूले पठाउन पाउनुपर्ने अडान लिएका थिए, तर सभापति देउवाले काेइराला पक्षकाे कुरै सुनेनन् ।

कोशी प्रदेशकाे राजनीितमा पिन देउवाले हस्तक्षेप गरेकाे आराेप काेइराला पक्षले देउवा पक्षलाई लगाउँदै आएका छन् । काेइरालाले काेशी प्रदेशकाे राजनीतिमा देउवाकाे दवाव भएकाे इंगित गर्दै भनेका थिए, ‘कांग्रेस संविधानभन्दा बाहिर जान हुँदैनथ्यो।’

कोइरालाले आफूले पटक-पटक दिएका सुझाव र उठाएका प्रश्नलाई बेवास्ता गरेकाे आराेप देउवालाई लगाए । ‘आजबाट म तपाईंसँग कुरा गर्दिनँ,’ कोइरालाले देउवासँग भने, ‘जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु।’

प्रदेशहरूमा मुख्यमन्त्री र मन्त्री पद बाँडफाँडका विषयमा पनि पार्टीभित्र सभापतिले छलफल नगरेको काेइरालाकाे आराेप छ । ‘प्रदेशमा सरकार बनाउँदा र मन्त्री पठाउँदा एकपटक छलफलसमेत गरिएन, यस्तो एकलौटी किन गर्नुभएको ?,’ कोइरालाले देउवालाई सोधे।

तरूण दल चार सय १ सदस्यीय र नेविसंघ ७ सय ११ सदस्यीय बनाइएकोमा पनि कोइरालाले असन्तुष्टि जनाएका थिए। ‘एउटा समझदारी गरेर तरूण दल र नेविसंघमा हामीसँग नाम मागियो। नाम पनि पठाइएको हो। तर समझदारीविपरीत ठूलो संख्यामा भ्रातृ संस्थामा मनोनीत किन गर्नुभएको हो ?,’ उनले भने, ‘विधान मिच्ने कुरामा हाम्रो सहमति छैन।’

‘आजबाट म तपाईंसँग कुरा गर्दिनँ। तपाईं जसरी अघि बढ्नुहुन्छ बढ्नुहोस्,’ सभापति देउवालाई यति कुरा भनेर कोइराला धुम्बाराहीबाट निस्किएका थिए। सभापति देउवाले भने आफू सबैलाई समेटेर अघि बढ्न तयार नै रहेको जवाफ दिएका थिए। ‘तपाईं चिन्ता नलिनुहोस्, म सबैलाई मिलाएर अघि बढ्छु,’ देउवाले भनेका थिए।

सभापति देउवाले महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग १९ महिना हुँदासमेत गठन नगरेकाे भन्दै काेइराला पक्षधर रिसाएका छन्। सभापतिले मनोनीत गर्न सक्ने कोषाध्यक्ष, केन्द्रीय सदस्य, विभागलगायत पनि कसैलाई मनोनीत गरिएकाे छैन्। अहिलेसम्म १६ विभाग प्रमुख तोकेका सभापति देउवाले आफूनिकटलाई आकर्षक विभाग प्रमुख दिएको आरोपसमेत संस्थापनइतरको छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १४:५१   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।