Logo

प्रमुख समाचार

माओवादीले महीन्द्र रायलाई पठाएको पत्रले नेसपाभित्र तरंग



काठमाडौं । नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रले पार्टी एकताका लागि पठाएको पत्र हल्ला मात्र भएको निकट नेताहरूलाई बताएका छन् ।

पार्टी कामको सिलसिलामा भारत पुगेका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले महीन्द्र राय यादवलाई लेखेको पत्रमा आशंका गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

माओवादीको पत्रले नेसपाभित्र विवाद उत्पन्न भएको छ । भट्टराईका स्वकीय सचिव एवं नेसपा कार्यालय प्रमुख रोशन पोखरलले कार्यकारी अध्यक्ष भट्टराईको जानकारी नदिई पठाएको पत्रमाथि प्रश्न उठेको बताए । ‘हामीले सञ्चारमाध्यामबाट पार्टी एकताका लागि भन्दै पठाएको पत्रबारे थाहा पायौँ । माओवादी अध्यक्ष र महासचिवले लेखेको भनिएको पत्र प्राप्त भएको छैन,’ उनले भने, ‘कार्यकारी अध्यक्ष भट्टराईले पत्रको हल्लाको पछि नलाग्न निर्देशन दिनुभएको छ । उहाँ काठमाडौं फर्केपछि यसबारे आधिकारिक निर्णय गरिनेछ ।’

नेसपा अध्यक्ष रहेका यादव अहिले खानेपानी मन्त्री छन् । पोखरेलले पार्टीभित्र ‘चलखेल’ गर्न पत्र सार्वजनिक गरिएको दाबी गरे । ‘एकताका लागि पार्टीको तर्फबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समितिले काम गरिरहेको छ । समितिले पार्टी एकताका लागि नौ बुँदे प्रस्ताव माओवादीलाई केही समय अघि पठाएको थियो,’ उनले भने, ‘पत्रको जवाफ आएको छैन । अहिले पार्टीभित्र अन्तरविरोध ल्याउन एकताका लागि पत्र सार्वजनिक गरिएको छ ।’ नेसपाका यादव पक्षलाई पार्टी प्रवेश गराउन सुटुक्क पत्र पठाइएको पोखरेलले टिप्पणी गरे ।

माओवादी केन्द्रीय कार्यालयले यादवलाई पठाएको पत्र आधिकारिक रहेको बताएको छ । ‘पत्र आधिकारिक हो,’ केन्द्रीय कार्यालयका एक सचिवले भने । माओवादी पदाधिकारी बैठकले साउन २५ मा पार्टी एकताका लागि गम्भीर छलफल गर्दै ‘कोष्ठकभित्र रहेको माओवादी केन्द्र’बारे आगामी महाधिवशेनमा खुला छलफल गर्न सकिने बताएको छ ।

‘पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीका लागि पत्राचार गरिएको छ’ पत्रमा भनिएको छ ।

मन्त्री यादवले भने माओवादीले कार्यकारी अध्यक्ष भट्टराईलाई पनि पत्र पठाएको हुन सक्ने उल्लेख गर्दै एकताका लागि नेसपाले लेखेको ९ बुँदेको जवाफ आउनु सकारात्मक भएको बताए । ‘पार्टी एकताका लागि हाम्रो जवाफ पठाउनु सकारात्मक छ,’ उनले भने, ‘चुनावअघि नै नेकपा समाजवादी राख्ने समझदारीअनुसार माओवादी महाधिवेशनले निर्णय गरेपछि एकता हुने छ ।’

उनले नेसपाका उम्मेदवारले माओवादी चुनाव चिह्नबाट संघमा एक र प्रदेशमा दुई सांसद जितेको उल्लेख गर्दै संसदीय दल पनि माओवादी नै रहेको बताए । पत्रबारे आशंका गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ । ‘एकता नचाहनेहरूले प्रश्न उठाएका होलान्,’ उनले भने, ‘पार्टीमा कुनै समस्या छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ९ : ०१ बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।