काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ ।
पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् ।
देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले मंगलबार बैठक बसेर कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेका छन् ।
उनीहरूले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई समेत एकाकार गर्दै देशभर आफ्नो समूहलाई मजबुत बनाउँदै लैजाने अभियानमा छन् ।
मंगलबारको बैठकमा निमन्त्रणा गरे पनि प्राविधिक रूपमा बैठकमा उपस्थित हुन नसके पनि महामन्त्री शर्मा र नेता पौडेल आफूसँगै रहेको केन्द्रीय सदस्य मधु आचार्यले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
मंगलबारको बैठकको निचोड बोकेर बुधबार डा. शेखर कोइराला पार्टी सभापति देउवा निवास धुम्बाराही पुगेका थिए। नेता कोइरालाले सभापति देउवालाई भेटेर देशको समग्र अवस्था र पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि जनाएकाे भेटमा सहभागी नेताहरूले बताएका छन् ।
भेटमा कोइरालाले सभापतिसँगलाई देशको आर्थिक राजनीतिक, सामाजिक परिस्थिति अत्यन्तै खतरनाक मोडमा पुगेको सुझाउँदै पार्टी र सरकारसमेत यसमा गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराएको नेता आचार्यले बताए ।
















प्रतिक्रिया