काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने छ ।
बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो ।
कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४ र २५ तथा असोज ३ गते भव्यताका साथ बीपी साहित्य महोत्सव बनाएको थियो ।
यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।
कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने बताइएकाे छ ।
साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले भदौ १५ सम्ममा विभागलाई पूर्णता दिने निर्णय गरिएकोमा कार्यान्वयन भएको छैन । तोकिएका १५ विभागका प्रमुखहरूले समेत अहिलेसम्म औपचारिक पत्र दिएको छैन । याे बैठकपछि मात्रै विभाग प्रमुखहरूलाई औपचारिक पत्र दिने देउवाको तयारी छ ।
त्यस्तै, कांग्रेसभित्र इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला पछिल्लो समय सरकार आफैंले लिनुपर्ने पक्षमा उभिएको छ । उनीसहित महामन्त्री गगन थापासहित नेताहरू सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।















प्रतिक्रिया