काठमाडौं । सरकारले औपचारिक वार्तामा बोलाएपछि आन्दोलनरत शिक्षकहरू आन्तरिक तयारीमा जुटेका छन् । सरकारसँग भएको अनौपचारिक वार्तामा शिक्षकहरूले आफ्ना मागहरू बुँदागत रूपमा प्रस्तुत गरेका छन् ।
मागहरूका विषयमा सरकारले आन्तरिक छलफल थालेको छ । शिक्षकहरूले समेत औपचारिक वार्ताको लागि वार्ता समिति गठन गर्ने र वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।
दुवै पक्ष आन्तरिक छलफलमा जुटेपछि वार्तालाई सार्थकता दिने गरी अगाडि बढ्ने दुवै पक्षबीच सहमति भएको छ । शिक्षकहरूसँगको छलफलअघि कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छलफल गरेका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीहरूसँगको छलफलको क्रममा शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गरेका थिए ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि काठमाडौँमा आन्दोलन भइरहेको छ । सरकारले वार्ता गर्नको लागि गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । तर, आन्दोलित पक्षबाट हालसम्म वार्ता टोली गठन हुन सकेको छैन । महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीले सरकारबाट आधिकारिक रूपमा वार्ताको लागि परिपत्र आएपछि मात्रै वार्ता टोली गठन गरिने र सोही आधारमा सरकारसँग औपचारिक वार्ता हुने बताए ।
प्रतिक्रिया