Logo

प्रमुख समाचार

कांग्रेस बैठकमै अर्थमन्त्री महतको आलोचना, क्षमतामाथि उठ्याे प्रश्न



काठमाडौ । प्रमुख सत्तारूढ दल कांग्रेसका नेताले आफ्नै दलका मन्त्रीले पनि सरकारका महत्त्वपूर्ण जिम्मेवारीमा बसेर काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्ने अधिकांश नेताले मन्त्रीहरूले ‘डेलिभरी दिन’ नसक्दा पार्टीप्रतिको आम दृष्टिकोण झन्–झन् बिग्रिँदै गएको बताएका हुन् ।

सरकारमा कांग्रेसबाटै अर्थमन्त्री भए पनि मुलुकको अर्थतन्त्र उकास्ने गरी कुनै काम गर्न नसकेको भन्दै पार्टीका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतको क्षमतामाथि नै प्रश्न उठाए । सरकारले विकास खर्च गर्न नसक्ने, उद्यमीले ऋण नपाउने तर बैंकमा पैसा थुप्रिएर बस्ने अनि बजारमा मन्दी र कालोबजारी मौलाउने अवस्थाको अन्त्य गर्न अर्थमन्त्रीले तत्काल योजना बनाएर काम अघि बढाउनुपर्ने पनि उनीहरूले सुझाव दिएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका केन्द्रीय सदस्य गोविन्द पोखरेलले पहिलो दलका रूपमा सरकारमा महत्त्वपूर्ण हिस्सा लिए पनि सर्वसाधारणमा आशा जगाउन नसकेको टिप्पणी गरे । ‘सरकारको नेतृत्व अर्को दलले गरेको छ, हामी आफैं पनि सरकारमै छौं तर सरकारको डेलिभरीमा चित्त बुझाउने अवस्था छैन,’ नेता पोखरेलले भने, ‘देशमा गरिखान चाहनेहरू निराश छन् । बैंकहरूमा ५ खर्ब रुपैयाँ थन्किएको छ । तर, उद्यमीले ऋण नपाएर सटर बन्द गरेर हिँड्न बाध्य छन् ।’

चाडबाड नजिकै आइपुगेका बेला आर्थिक मन्दी लागेर करिब ६० प्रतिशत आन्तरिक रोजगारी धरापमा परेको र सहरका करिब ३५ प्रतिशत सटर बन्द भएको दाबी गर्दै उनले थपे, ‘दुई महिनामा लक्ष्यअनुसारको राजस्व उठेको छैन । ऋण लिएर तलब खुवाउन परेका बेला मन्त्रालय फुटाएर मन्त्री थप्ने, चालु खर्च बढाउने, सार्वजनिक ऋण बढाउने गर्दा भविष्यमा कस्तो अवस्था आउँला ?’

मुलुकको बिग्रँदो आर्थिक अवस्थाका विषयमा अर्थमन्त्री र गभर्नरले अनुत्तरदायी ढंगले एकअर्कालाई आरोप–प्रत्यारोप गरेर प्रस्तुत हुनु गलत भएको पोखरेलको भनाइ थियो । ‘अर्थमन्त्रीले राष्ट्र बैंकको मौद्रिक नीतिले गर्दा अर्थतन्त्र बिग्रियो भन्ने अनि गभर्नरले सरकारको आर्थिक नीतिले गर्दा अर्थतन्त्रको हालत यस्तो अवस्थामा पुग्यो भन्ने, जिम्मेवार दुई अधिकारीको यस्तो अनुत्तरदायी दोहोरीबीच अर्थतन्त्र जहाँको त्यहीं छ,’ पोखरेलले थपे ।

उनले विगतमा कांग्रेसको अर्थमन्त्री हुँदा सेयर बजार उकालो लाग्ने गरेको स्मरण गर्दै यस पटक त्यस्तो नभएको बताए । ‘तर, अहिले ओरालो लागिरहेको छ । यो राम्रो संकेतचाहिँ होइन,’ उनले थपे, ‘कांग्रेसले कमाउँछ, कम्युनिस्टले बाँड्छ भन्थे पहिले । अहिले त्यो इमेज बिग्रिँदै गइरहेको छ, अर्थमन्त्रीज्यू के गरिरहनुभएको छ ?’उनले अर्थतन्त्र कमजोर बनेका बेला फजुल खर्च नियन्त्रण गर्नुपर्नेमा मिलिजुली सरकारले त्यसलाई समेत बढाउने काम मात्रै गरिरहेको आरोप लगाए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार  ८ : ०८ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।