Logo

प्रमुख समाचार

फेरि सेना चलाउँदै प्रचण्ड, नियमविपरीत पूर्वमाओवादी अधिकारीको पदावधि थप



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले अवकाश पाउने अवस्थामा पुगेका सहायक रथी यमबहादुर अधिकारीको म्याद दुईपटक थप गरी नेपाली सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरेका छन्।

प्रधानमन्त्री दाहालले दोस्रोपटक अधिकारीको म्याद थप गर्न लगाएर गलत अभ्यासको सुरुवात गरेका हुन्। ‘नेपाली सेनामा कुनै एक अधिकृतलाई लगातार दुईपटक विशेष पदमा म्याद थमौती गरिएको यो पहिलो पटक हो। यो अभ्यास गलत पनि छ’, नेपाली सेनाका एक उच्च अधिकृतले भने, ‘प्रधानसेनापति प्रभुराम शर्माको रुचिविपरीत सहायक रथी यमबहादुर अधिकारीको म्याद थमौतीका लागि पत्र पठाइएको हो।’

सहायक रथी अधिकारीको म्याद प्रधानमन्त्रीको ठाडो निर्देशनमा तीन वर्षका लागि थप गरिएको हो। रक्षामन्त्रीलाई समेत जानकारी नगराईकन अधिकारीको म्याद गुपचुपमै थपिएको हो। यसअघि २०७६ सालमा विशेष पद सिर्जना गरी उनलाई अवकाश हुनबाट रोकिएको थियो। त्यसबेला पहिलोपटक ४ वर्षे कार्यकालका लागि सहायक रथीमा बढुवा गरिएको र अहिले त्यही पदमा ३ वर्ष थप गरिएको हो।

‘नेपाली सेनाको जंगी अड्डामा मन्त्रिपरिषद्को निर्णयअनुसार अधिकारीको पदावधि ३ वर्षका लागि थप गरिएको बेहोराको रक्षा मन्त्रालयको पत्र भदौ ३१ मै प्राप्त भएको थियो’, सैनिक स्रोतले भन्यो। अधिकारी सोही पत्रका आधारमा असोज १ बाट नियमित काममा हाजिर भएका छन्। ‘नेपाली सेनामा सहायक रथी विशेष पदमा कार्यरत यमबहादुर अधिकारीको पहिलो चारवर्षे पदावधि समाप्त हुने मिति २०८० भदौ ३१ गतेबाटै लागु हुने गरी सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिन दोस्रो तीन वर्षको पदावधि थप भएको छ।

पदावधि थपसम्बन्धी नियमित प्रक्रियाअनुरूप नै सैनिक ऐन तथा नियमावलीका आधारमा यो निर्णय भएको हो,’ सैनिक जनसम्पर्क निर्देशनालयले केही दिनअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार ०८:४१   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।