Logo

अटो

नेपाली बजारमा टाटा मोटर्सको पहिलो विद्युतीय कमर्सियल गाडी ‘एस इभी’ सार्वजनिक



काठमाडाैं । टाटा मोटर्सले पहिलो पटक नेपाली बजारमा विद्युतीय कमर्सियल गाडी सार्वजनिक गरेको छ।

टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बजारमा कमर्सियल भेहिकलतर्फ ‘एस इभी’ सार्वजनिक गरेको हो। कम्पनीले दीगो आवतजावत प्रणाली (सस्टेनेबल मोबिलिटी)लाई प्रवर्द्धन गर्न विभिन्न योजना तथा कार्यक्रमहरू गर्दै आएको छ। यसै सन्दर्भमा यस पटक कमर्सियल भेहिकलतर्फ कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।

एस इभी एक उन्नत र रिभोलुसनरी चार पांग्रे कमर्सियल गाडी हो। कम्पनीका अनुसार सार्वजनिक भएको एस इभीको पहिलो ब्याच ग्राहकहरूलाई डेलिभर समेत भइसकेको छ। वातावरणीय रूपमा सचेत कम्पनीहरूका लागि एस इभी एक पर्यावरण-मैत्री मोबिलिटीको समाधान हुनेमा कम्पनी विश्वस्त छ।

टाटाको एस इभी सार्वजनिक गर्दै टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्राले एस इभी नेपाली बजारमा सार्वजनिक हुनु नेपालमा शून्य उत्सर्जन कार्गो मोबिलिटी प्रदान गर्ने कम्पनीको लक्ष्यमा कोशेढुंगा सावित भएको बताए।सोही कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ एसजेबी राणाले उन्नत र वातावारण-मैत्री चार पांग्रे कमर्सियल गाडी सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे।

एस इभी टाटा मोटर्सको ‘इभोजेन’ पावरट्रेन विशेषता भएको पहिलो उत्पादन हो। यसले एक पटकको पूरा चार्जमा १५४ किलोमिटर रेन्ज दिने बताइएको छ। एस इभीमा उन्नत ब्याट्री कुलिङ प्रणाली र पुन: उत्पन्न ब्रेकिङ प्रणाली पाउन सकिन्छ। जसले गर्दा गाडीलाई सुरक्षित ढंगमा हरेक प्रकारको मौसममा चलाउन सकिन्छ। यो गाडीमा उच्च अपटाइमको लागि नियमित र छिटो चार्ज गर्ने क्षमता छ।

उच्चतम कार्गो भोल्युम र २२ प्रतिशतको ग्रेड क्षमता सुनिश्चित गर्न एस इभी १३० एनएम पिक टर्कको साथ २७ किलोवाट (३६ एचपट्ठ) मोटरद्वारा सञ्चालित छ। गाडी पुरै लोड भएको अवस्थामा पनि सहजै उकालोमा समेत चलाउन सकिने कमपनीले जनाएकाे छ। एस इभीको कन्टेनर नेपालका आवश्यकताहरू पूरा गर्न विशेष रूपमा अनुकूलित गरिएको छ। अर्थात् नेपाली बजारको लागि उपयुक्त हुने तरिकाले कस्टमाइज गरिएको छ।

कम्पनीले एस इभीमा ६ वर्ष वा १.६ लाख किलोमिटरको ब्याट्री वारेन्टी दिएको छ। गाडीको कुल तौल जम्मा १,८४० केजीको रहेको छ भने ग्राउन्ड क्लेरेन्स १६० एमएम छ। यसको ह्विलबेस २१०० एमएम छ। टाटा एस इभी आइपी६७ रेटेड छ।

यसको ब्याट्री फास्टचार्ज गर्दा १०५ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशत हुन्छ भने यसलाई लाग्ने रेगुलर चार्ज गर्दा २० देखि १०० प्रतिशत हुने ७ घण्टाको समय तोकिएको छ। नेपाली बजारमा टाटा एस इभीको मूल्य २९ लाख ५० हजार तोकिएको छ। कम्पनीले केही समयको लागि फेस्टिभ अफर दिएको छ। सो अवधिमा भने टाटा एस इभी जम्मा २६ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिन्छ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १३:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।