काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १९ औं एसियन गेम्सका लागि सोमबार चीन जाने भएका छन्।
नाबालिग बलात्कार मुद्दाको फैसला केन्द्रित सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप चीन जान पाएका थिएनन्। काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै उक्त मुद्दाको सुनुवाइ स्थगन गरेपछि उनी भोली सोमबार चीन जाने तयारीमा छन्। एसियाडका लागि सन्दीपबिनाको नेपाली टोली आजै हाङजाओ प्रस्थान गरेको छ। सन्दीप चीन जान सोमबारका लागि हवाई टिकट काटिसकिएको क्यानले जनाएको छ। टी-२० फर्म्याटमा खेलाइने एसियाली खेलकुदको क्रिकेटमा नेपालले समूह चरणमा आगामी बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ।
समूह चरणमा पहिलो भएमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ। जहाँ नेपालको भेट टेस्ट टिमसँग हुनेछ। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै क्वाटरफाइनलमा पुगेका हुन्। नेपालले स्पिनर ललित नारायण राजवंशी घाइते भएपछि उनको स्थानमा सागर ढकाललाई टिममा समेटेको छ।
नेपाली टाेलीमा काे काे छन् त!
नेपालको टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी।





















प्रतिक्रिया