काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमित रुपमा सभापति शेरबहादुर देउवाले नेताहरूको पालो निर्धारण गर्छन् । बोल्ने नेताहरूले पाँच मिनेट समय पाउँछन् । सोही अनुसार आइतबारको बैठकमा उनले हरिशरण नेपालीलाई बोल्न पालो दिए ।
नेपालीले पनि पाँच मिनेटसम्म बोले पनि आफ्नो सम्बोधन सकेनन् । उनी बोल्दै गर्दा देउवाले हस्तक्षेप गर्दै ‘धन्यवाद है, सकियो त’ भने । तर नेपाली बोलिरहे ।
आफैंले केही बेरअघि नाम बोलाएर समय दिएको केन्द्रीय सदस्यको नाम देउवाले बिर्सिएछन् क्यारे । उनले महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाएर सोधे, ‘यिनको नाउँ ? को मान्छे हुन् यिनी ?’ शर्माले वक्ताको नाम बताइदिए । फेरि देउवाले सोधे, ‘कहाँका मान्छे हुन् यिनी ?’
नेपाली बोलिरहेपछि देउवाले ‘भयो भयो, तपाईंको (समय) सिद्धिसक्यो, माफ गर्नुस्’ भने । त्यसले उनले मदनकृष्ण श्रेष्ठलाई समय दिए । बैठक चलिरहँदा देउवाको अभिव्यक्तिले बेलाबेलामा हाँसो ल्याउने गरेको छ ।
नेपालीले आफ्नो सम्बोधनमा उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय नभएको बताए । ‘त्यस कारणले त्यहाँ धेरै ठूलो खाडल बन्दै गएको छ’, उनले भने, ‘समन्वय गरेर गए मात्रै पार्टी आफैं बन्छ । देश पनि समृद्धि बन्छ ।’
चौधौं महाधिवेशनमा नेपाली देउवा समूहबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी दलित (खुला) समूहबाट निर्वाचित भएका थिए ।















प्रतिक्रिया