काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डको कार्यकर्ता बनेर पछि लागेको टिप्पणी गरेका छन् ।
ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । देशको विकास र जनताको पक्षमा सरकारले काम गर्न नसक्दा पनि देउवा प्रचण्डको कार्यकर्ता बन्दा मुलुक र स्वयं कांग्रेसलाई पनि क्षति हुने ओलीको जिकिर छ ।
उनले सहिदको बलिदानबाट सत्तामा पुगेकाहरूले सहिदको सम्मान गर्न नसकेकोसमेत बताए । द्वन्द्वको समयमा मुलुक परिवर्तनका खातिर बलिदान दिने सहिदलाई सत्ता प्राप्तिपछि द्वन्द्वको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बिर्सिएको ओलीको आरोप छ । सहिद, बेपत्ता र घाइतेका परिवारको वास्तविक समस्या सरकारले बुझ्न नसकेको उनको भनाइ थियो ।
सहिद गुरु लुइँटेल २०औँ स्मृति दिवसको अवसर पारेर ‘गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र’को आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू सरकारमा हुँदा विकास र समृद्धिका कामहरू चौतर्फी रूपमा भए पनि वर्तमान सरकारले जनतालाई छक्याउनेबाहेक केही गर्न नसकेको बताए ।
सरकार आफैँ सुन तस्करीमा तल्लीन भएको आरोप लगाउँदै उनले वर्तमान सरकारलाई जनताले फाल्न चाहेको दाबी गरे ।
प्रतिक्रिया