काठमाडाैं । १५औँ महाधिवेशनका लागि सभापतिको तयारीमा जुटेका कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले एक महिनाको अन्तरमा केन्द्रीय कारागार सुन्धारा पुगेर बालकृष्ण खाणसँग भेट गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य खाणसँग कोइरालाको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
खाण पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला नेता हुन्, साथै उनी कांग्रेसभित्र बलियो पकड भएका नेतामध्येका एक पनि हुन् । कोइरालाले पछिल्लोपटक शनिबार सुन्धारा पुगेर खाणसँग भेट गरेका थिए । यसअघि १३ भदौमा पनि कोइराला खाणलाई भेट्न गएका थिए । स्रोतका अनुसार भेटमा खाणले सभापति देउवाबाट कानुनी लडाइँलगायतमा अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका थिए ।
७ साउनमा केन्द्रीय समिति बैठकमा कोइरालाले धारणा राख्ने क्रममा भुटानी शरणार्थी प्रकरणले नेपालको छवि धुमलिएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने बताएका थिए । ‘सुशासन : भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन् ।
कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन,’ बैठकमा उनले भनेका थिए । बैठकमा महामन्त्री गगन थापालगायतका केही सदस्य खाणलाई केन्द्रीय समितिबाट निलम्बन गर्नुपर्ने पक्षमा उभिएका थिए ।
केन्द्रीय समितिमा खाणको नामै नलिई उनीमाथि प्रहार गरेका कोइरालाले त्यसपछि दुईपटक भेट गरेका छन् । यसलाई कांग्रेसभित्र खाण फकाउने कोइरालाको रणनीतिको अंशका रूपमा हेरिएको छ । कोइरालानिकट स्रोतका अनुसार उनी संस्थापनसँग असन्तुष्ट केन्द्रीय सदस्य, जिल्ला सभापति र जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा छन् । यसैअनुसार उनले महाधिवेशनमा हार–जितमा भूमिका खेल्न सक्ने खाणसँग सम्पर्क बढाएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।





















प्रतिक्रिया