Logo

प्रमुख समाचार

मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कबीच अनुसन्धान नेटवर्क स्थापना गर्ने सम्झौता



काठमाडाैं । असोज ७ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) का अध्यक्ष लोचनलाल अमात्यले राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने भन्दै सम्झाैता गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित हलमा आयोजित एक समारोहबीच हिजाे आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएकाे हाे ।

कार्यक्रममा बाेल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले एनआरईएनले विगतमा गरेको सहकार्य र सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा समेत शैक्षिक एवं अनुसन्धानात्मक कार्य थप अगाडि बढाउने र भर्खरै गरिएकाे सम्झौता समेत यसैको एक कडीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी, सदस्य प्रा. डा. रामेश्वर अधिकारी, रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल, सम्पूर्ण ग्र्याजुएट स्कुलका डीनहरु, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, प्राचार्य, विभागीय प्रमुख/संयोजक, प्राध्यापक तथा कर्मचारीलगायतको उपस्थित रहेको थियो । त्यस्तै एनआरईएन का तर्फबाट संस्थागत अध्यक्ष डा. भुषण राज श्रेष्ठ, संस्थापक सदस्य प्रा.डा. सुवर्ण शाक्य, कार्यकारी निर्देशक डा. राजन पराजुली र नेटवर्क अफिसर निराजन पराजुली उपस्थित थिए ।

याे सम्झौताले मध्यपश्चिम विश्वविद्यालले विश्वव्यापीरूपमा अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी र शैक्षिक संस्थाहरूबीच अनुसन्धानात्मक नेटवर्क स्थापित गर्न बताइएकाे छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई गुणस्तरीय एवं द्रुत गतीमा आवश्यक पर्ने सूचना तथा डेटा सहजै उपलव्ध हुने अपेक्षा गरिएकाे छ । साथै एनआरईएनमा आबद्धता पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेटको नि:शुल्क सेवा प्राप्त हुनेछ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  १ : ४० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।