Logo

अर्थ

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल, कृतिम मूल्य वृद्वि गरेकाे आराेप



काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ ।

कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम विभागले सिल गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका काम भइरहेकाे जानकारी गराए ।

‘गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ,’ पोखरेलले भने,‘अहिले चिनीको गुणस्तर परीक्षणकाे काम भइरहेकाे छ ।’ व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए । दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनीकाे मूल्य बढाएर पछिल्लो समय १४० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ । काठमाडौं उपत्यकामा चिनी बिक्रीमा खास व्यक्ति मानिएका खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी कृत्रिम भण्डारण गरेर चाडपर्वको मुखैमा महँगोमा बिक्री गर्ने गरेको पाइएको सरकारी अधिकारीहरुको दाबी छ ।

उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद गरिएकाे छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १६:१७   :  बजे

552
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।