Logo

खेलकुद

महिला फुटबल: जापानसँग फराकिलो हारपछि एसियन गेम्सबाट बाहिरियाे नेपाल



काठमाडाैं । १९ औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल प्रतियोगिताबाट बाहिर भएको छ ।

पहिलो खेलमा भियतनामासँग पराजित भएको नेपाल आज भएको खेलमा जापानसँग फराकिलो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । अब समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्दा यो समूहबाट जापान र भियतनामले अर्को चरणमा स्थान बनाएका छन् ।

आज भएको खेलमा नेपालले जापानसँग नमिठो हार ब्यहोर्न पुग्यो । पहिलो हाफमै ५ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएको प्रर्दशन गरे पनि थप ३ गोल खाँदा अन्तमा ८–० को नतिजा जापानलाई सुम्पियो ।

युजुहो सियोकोशीले तेस्रो मिनेटमै गोल गर्दै जापानलाई अग्रता दिलाइन् । युजुकी यामामोटोले १३ औं मिनटमा गोल गरेपछि अग्रता दोब्बर भयो । लगातार नेपाली पोस्टमा आक्रमण गरेको जापानले २७ औं मिनेटमा मामी युनोले गोल गरिन भने २९ औं  रेनि वाकीसाकाले चौथो गोल गरिन् ।   ३६ औं मिनेटमा हारुका ओसावाले पेनाल्टीमा गोल गरेपछि जापान ५–० ले अघि बढ्यो ।

५९ औं मिनेटमा कोटोनो साकिबाराले गोल गर्दा जापान ६–०ले अघि बढेको थियो भने ७५ औं मिनेटमा हारुका ओसावाले व्यक्तिगत दोस्रो तथा टिमका लागि सातौं गोल गर्दै फराकिलो जित तर्फ अग्रसर बनाइन् । नेपालले आठौं गोल अतिरिक्त समयको आठौं मिनेटमा खाएको थियो । जापानकी माया हिजिकाताले गोल गरेपछि नेपाल फराकिलो अन्तरले पराजित भयो । नेपाल र जापान पहिलो पटक प्रतिस्पर्धा गरेका छन् ।

जापानको महिला टिमले फिफा विश्वकप समेत जितिसकेको छ भने महिला फुटबलमा एसियाको पावर हावसको रुपमा रहेको छ । अब नेपालले सान्त्वना जितका लागि समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्ने छ । यस्तै, यही समूहमा रहेको भियतनामले बंगलादेशमाथि ६–१ गोलको जित दर्ता गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १९:२६   :  बजे

387
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।